This was published in Himal Khabar Patrika 16 Sept – 1 Oct, 2010, Issue 272 and online at  http://himalkhabar.com/news.php?id=3647.

प्रविधि र व्यापारको युद्ध

कल वाइपास नयाँ कुरै होइन (हे. हिमाल १-१५ असोज २०५८)। अहिले आएर शान्तिसुरक्षा जोडिएको र प्रविधिको विकाससँगै नियन्त्रण गर्न मुश्किल हुँदै गएको मात्र हो।

गौरवराज उपाध्याय

इन्टरनेट प्रयोग गरेर टेलिफोनसरह कुराकानी गर्ने प्रक्रियालाई भ्वाइस भर इन्टरनेट प्रोटोकल (भीओआईपी) भनिन्छ। नेपालमा केही किसिमको प्रयोग निश्चित गरेर दूरसञ्चार प्राधिकरणले भीओआईपी खुला गरिसकेको छ, जसअनुसार नेपालबाट अन्तर्राष्ट्रिय कल गर्न छुट छ। जसका कारण विदेशमा गरिने फोन शुल्क सस्तो भएको छ। १० वर्षअघिसम्म प्रति मिनेट रु.४० पर्ने अन्तर्राष्ट्रिय कलको दरलाई अहिले नेपाल टेलिकम, युटिएल, एनसेल आदिले रु.६ मा झ्ारेका छन्। साइबर वा पिसिओमा रु.१ मै पाइन्छ। तर अझ्ै पनि नेपाल बाहिरबाट आउने कल खुला गरिएको छैन, त्यसको अनुमति चार मुख्य दूरसञ्चार प्रदायकलाई मात्र छ।

गएको दुई दशकमा अन्तर्राष्ट्रिय रूपमा सञ्चारमा जति खुलापन अरू क्षेत्रमा आएको छैन। दुई दशकअघिसम्म देश-देश बीचको दूरसञ्चार सम्बन्ध अहिले कम्पनी-कम्पनी बीचमा छ। अन्तर्राष्ट्रिय कलहरू विभिन्न कम्पनीका नेटवर्क भएर एक ठाउँबाट अर्को ठाउँमा जान्छन्। खुला बजार अर्थतन्त्रअनुरुप अन्तर्राष्ट्रिय बजारमा सुन, तेल जस्ता वस्तुको मूल्यमा उतारचढाव भए जस्तै दूरसञ्चारमा पनि विभिन्न नेटवर्कमा जाने-आउने कलको मूल्यमा परिवर्तन र उतारचढाव भइराख्छ। उच्च प्रतिस्पर्धा भएका मुलुकका नेटवर्कमा जाने-आउने कलको मूल्य कम हुन्छ र मूल्य कम भएकाले कल धेरै हुने हुँदा ती नेटवर्कले फाइदा लिइरहेका हुन्छन्। यही कारणले नेपालबाट अमेरिका कल गर्न रु.१ मै सम्भव भएको हो।

दूरसञ्चारको यो व्यापारिक संरचनाबाट नेपाल पनि अछुतो रहन सक्दैन। विदेशबाट नेपालमा फोन गर्दा नेपाल टेलिकम लगायत मुख्य सेवा प्रदायकहरूले प्रति मिनेट ९ देखि १५ अमेरिकी सेन्ट लिन्छन् भने नेपाल बाहिर धेरै सेवा प्रदायकले नेपालमा फोन गर्न प्रति मिनेट ८ सेन्टमा कलिङ कार्ड बेचेका हुन्छन्। यो हेर्दै थाहा हुन्छ, नेपालमा गैरकानुनी रूपमा कल बाइपास गर्नेहरूले ती कलिङ कार्ड बेच्नेलाई सस्तो मूल्यमा दिएका छन्। यसरी गैरकानुनी कल आउँदा राजस्व गुम्ने मात्र नभई सुरक्षा निकायलाई कल पत्ता लगाउन पनि असम्भव हुन्छ। यसलाई नियन्त्रण गर्ने उपाय यसरी हुने सबै कललाई कानुनी दायरामा ल्याउनु नै हो।

नेपालबाट अमेरिका कल गर्दा रु.१ (०.०१३ सेन्ट) मा गर्न सकिन्छ, तर अमेरिकाबाट नेपाल फोन गर्दा रु.९ (१२.५ सेन्ट) पर्छ। यसैले गर्दा नै गैरकानुनी प्रयोग बढेको हो र त्यसो गर्नेहरूले इन्टरनेट कनेक्सन लिएर मोबाइलको सीमबाट लोकल कलको मूल्य तिर्दा पनि फाइदा हुने भएरै गरेका हुन्। ठूला प्रदायकहरूको उच्च लगानी र ठूलो नेटवर्कका कारण मूल्य बढी हुनु स्वाभाविक हो। त्यसमाथि सरकारले दुई दशक पुरानै चलनअनुरुप अन्तर्राष्ट्रिय कलबाट हुने आयमा थप कर लगाउनाले पनि मूल्य बढेको छ।

नेपालबाट बाहिर जाने कलमा भीओआईपी प्रविधिलाई खुला गरेर दूरसञ्चार प्रदायकहरूलाई घाटा भएको छैन, बरु यसबाट समग्रमा नेपालभित्र दूरसञ्चारको पहुँच बढेको छ। नेपाल भित्रिने कललाई पनि यसैगरी सरलीकरण नगरेसम्म गैरकानुनी प्रयोग नहट्ने प्रस्ट छ। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्षले गएको वर्ष यसलाई कानुनी बनाउने प्रक्रिया शुरु गरेको सार्वजनिक गरेका थिए। यसरी समस्याको दीर्घकालीन समाधानको पहिचान भएर पनि खुला गर्न किन नसकेको हो, बरु त्यसप्रति ध्यान गए सबै दूरसञ्चार प्रयोगकर्तालाई फाइदा हुनेछ।